विमानस्थलमा प्रहरीले पक्राउ गरेपछि युनुस र अन्य। तस्बिर: प्रविन काेइराला/नेपालखबर
जेठ दोस्रो हप्ता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा नक्कली भारुसहित पक्राउ परेका युनुस अन्सारीलाई पुर्पक्षका लागि जिल्ला अदालत काठमाडौंले थुनामा पठाएकोा छ। मंगलबार आदेश गर्दै जिल्ला अदालतले युनुससहित अन्यलाई थुनामा पठाएको प्रहरीले जनाएको छ।
युनुस अन्सारीसहित गत जेठ १० गते छ जनालाई प्रहरीले पक्राउ गरेको थियो। पक्राउमध्ये तीन जना कतार एयरवेजको उडानबाट आएका पाकिस्तानी नागरिक थिए। युनुस नक्कली भारूको ब्रिफकेश रिसिभ गर्न गएका थिए।
पाकिस्तानी नागरिकहरु नासिर उदिन, नादिया अनवर र मुहम्मद अख्तर समेत पक्राउ परेका थिए। युनुस यसअघि पनि पटक–पटक नक्कली भारु र लागू पदार्थ कारोबारमा दोषी ठहर भइ सजाय पाएका व्यक्ति हुन्। केही समयअघि मात्र जेलबाट छुट्नासाथ उनी पाकिस्तान पुगेका थिए। उनी पूर्वमन्त्री सलीम मियाँ अन्सारीका पुत्र हुन्।
केन्द्रीय कारागारमा रहँदा उनलाइ भारतीय अपराधिक समूहले गोली हानी हत्या गर्न खोजेको थियो। केही समय उनले नेशनल टेलिभिजन नामक टिभी च्यानल सञ्चालन गरेका थिए। निरन्तर निगरानीमा रहेका युनुस भारतमा विशेष सुरक्षासहित प्रचलनमा ल्याइएका दुई हजार दरका ७ करोड ६७ लाख रुपियाँ नक्कली नोटसहित पक्राउ परेका थिए। भन्सार जाँच गर्ने क्रममा सुटकेसभित्र उक्त परिमाणमा नक्कली भारु बरामद भएको थियो।
प्रतिक्रिया