जनकपुर–बुधबारदेखि परेको अविरल वर्षाका कारण आएको बाढीले प्रदेश नम्बर २ मा जनधनको व्यापक क्षति भएको छ । बाढीका कारण सयौँ घर डुबानमा परेको छ भने सर्वसाधारणको जनजीवन कष्टकर बनेको छ ।
बाढीका कारण माछापालन व्यवसायमा व्यापक क्षति भएको छ । प्रदेश नम्बर २ मा हुने कुल मत्स्यपालन व्यवसायको ७० प्रतिशत भन्दा बढी पोखरीमा बाढीले क्षति पुगेको छ ।
माछा जोनको रुपमा रहेको प्रदेश नम्बर २ का अधिकांश जिल्लामा मत्स्यपालन क्षेत्र हो । नेपालमा उत्पादन हुने कुल माछाको ७० प्रतिशत भन्दा बढी माछा प्रदेश नम्बर २ मा उत्पादन हुने गरेको छ । तर बाढीका कारण अर्बौको क्षति पुगेको माछा व्यवसायीहरुको भनाई छ । प्रदेश नम्बर २ मा मात्रै ११ हजार पोखरी बाढीकै कारण प्रभावित भएको छ ।
प्रदेश नम्बर २ मा कुल १५ हजार ६ सय ६७ पोखरीमा व्यवसायिक माछा उत्पादन हुँदै आएको छ । प्रदेश २ को बारामा सबैभन्दा बढी ४ हजार १ सय ३६ पोखरी उत्पादन हुन्छ, जसमध्ये २ हजार ४ सय ८१ पोखरी प्रभावित भएका छन् । बारामा ४ हजार मेट्रिकटन माछा वार्षिक रुपमा उत्पादन हुँदै आएको छ ।
त्यस्तै सप्तरीमा २ हजार ६ सय ८४ पोखरी छन् जसमा १ हजार ८ सय ७९ पोखरीमा बाढीले क्षति भएको छ । यस क्षेत्रमा वर्षेनी ३ हजार ६ सय मेट्रिकटन माछा उत्पादन हुँदै आएको छ । धनुषामा २ हजार ३ सय ५३ पोखरीमा माछा उत्पादन हुँदै आएकोमा १ हजार ६ सय ४७ पोखरीमा क्षति भएको ग्रामीण उद्यम तथा विप्रेषण आयोजना समृद्धिको प्रारम्भिक तथ्यांकले देखाएको छ । धनुषामा प्रत्येक वर्ष पोखरीहरुमा ३ हजार ३ सय मेट्रिकटन माछा उत्पादन हुँदै आएको छ ।
सिरहामा पनि माछा उत्पादन व्यसायिक रुपमा उल्लेख्य मात्रामा हुने गर्छ । यस क्षेत्रमा २ हजार १ सय ५४ पोखरीहरुमा किसानहरुले व्यवसायिक रुपमा माछापालन गर्दै आएका छन् । तर बाढीका कारण १ हजार ६ सय १५ पोखरीमा नराम्ररी क्षति पुर्याएको छ । त्यस्तै यहाँ वर्षेनी २ हजार ९ सय टन मत्स्यपालन हुने गर्छ । महोत्तरीमा १ हजार ९ सय ३५ पाखेरीमा माछा पालन हुन्छ जहाँ बाढीले सबैभन्दा बढी पोखरीमा क्षति पुर्याएको छ । यहाँ ३ हजार मेट्रिकटन माछा उत्पादन हुँदै आएको छ ।
सर्लाहीमा १ हजार २ सय ३४ पोखरीमा मत्स्यपालन हुँदै आएको छ, जहाँ ९ सय ८७ पोखरीमा बाढीले क्षति पुर्याएको छ । यहाँ प्रत्येक वर्ष २ हजार २ सय मेट्रिकटन माछा उत्पादन हुने गर्छ ।
रौतहट यस पटक बाढीले सबैभन्दा बढी बाढीबाट प्रभावित भएको छ । रौतहटमा माछा उत्पादन हुने १ हजार १ सय ७१ पोखरीहरु मध्ये ९ सय ३७ पोखरीमा क्षति पुगेको छ । यहाँ प्रत्येक वर्ष २ हजार ५ सय मेट्रिकटन माछा उत्पादन हुँदै आएको छ ।
प्रदेश नम्बर २ मा आएको बाढीका कारण अर्बौको क्षति पुर्याएको छ । बाढीका कारण पोखरीमा उत्पादन हुँदै आएको माछा नै बगाएर लगेपछि अर्बौको क्षति भएको समृद्धि परियोजनाका प्रतिनिधि राकेश झाले जानकारी दिए । उनले माछामा मात्रै ३ अर्ब भन्दा बढी क्षति पुर्याएको जानकारी दिए । जसमध्ये सबै भन्दा बढी क्षति महोत्तरी र बारा जिल्लामा भएको छ ।
नगराईन नगरपालिका वडा नम्बर ९ स्थित मत्स्य उत्पादन समृद्धिका अध्यक्ष रामप्रमोद राउतले नगराईन नगरपालिकामा रहेको व्यवसायीक माछा उत्पादन पोखरी मध्ये ४० वटा पोखरीमा मात्रै १० करोड बराबरको क्षति भएको बताए ।
त्यस्तै प्रदेश नम्बर १ र २ स्तरीय मत्स्य व्यवासय आपूर्ती श्रृंखला सम्बद्ध बहुसरोकारवालाहरुको गोष्ठी कार्यक्रममा प्रदेश नम्बर २ उद्योग वाणिज्य संघका प्रदेश अध्यक्ष शिवशंकर साह हिराले बाढीको कारणले विभिन्न क्षेत्रमा व्यवसाय गर्ने व्यापारीहरुलाई करोडौँको नोक्सान भएको बताए ।
उनले प्रदेश नम्बर २ मा माछापालन व्यवासयीलाई ३ अर्ब रुपैया भन्दा बढीको नोक्सानी भएको बताए । अन्य क्षेत्रमा पनि निकै नोक्सानी भएको, तर तथ्यांक आउन अझै केही समय लाग्ने जानकारी समेत दिए ।
प्रतिक्रिया