वीरगन्ज – पर्सा प्रहरीले सोमबार दिउँसो वीरगन्ज–६, माईस्थानस्थित 'केपी स्वर्ण कला' सुन पसलमा छापा मारेको सम्बन्धमा विज्ञप्ति प्रकाशित गरी बरामद २ किलो चाँदी र फेला परेको नगद ४१ लाख ९२ हजार रुपैयाँको स्रोत रहेको दाबी गरिएको छ। केपी स्वर्ण कलाका प्रतिनिधि सन्दीप सर्राफले एक विज्ञप्ति प्रकाशित गर्दै प्रहरीले बरामद गरेको उक्त नगद र चाँदी वैध भएको दाबी गरेका छन्।
उनले सञ्चालक कन्हैया सर्राफ फरार नभएर धार्मिक भ्रमणमा रहेको अवस्थामा प्रहरीले छापा मारेको प्रष्ट पारेका छन्। विज्ञप्तिमा भनिएको छ, 'प्रहरीको यस्तो कार्यले वीरगन्जकै सुन व्यवसायी त्रसित छन्।'
विज्ञप्तिमा लेखिएको छ, 'प्रहरीले बरामद गरेको रकम हुण्डी कारोवारको नभएको, साथै र चाँदी पनि अवैध नभएको तथा प्रहरीले दाबी गरेजस्तो यस फर्मका प्रोप्राइटर फरार नभई धार्मिक भ्रमणमा परिवारसहित भारत गएको स्पष्ट गर्न चाहन्छौँ। साथै हुण्डी कारोवारको भनिएको रकम र चाँदीको स्रोत यस फर्मसँग सुरक्षित रहेको छ।'
प्रहरीले पसलका कर्मचारी, एक जना ग्राहक र कालिगढसमेतलाई नियन्त्रणमा लिएको विज्ञप्तिमा उल्लेख छ। विज्ञप्तिमा भनिएको छ, 'फर्मको कारोवार वार्षिक रू. ८० करोडदेखि ९० करोडसम्म हुन्छ भने यस फर्मले वार्षिक आयकर लगभग १४ लाख रुपैयाँसम्म बुझाइरहेको लेखा परीक्षण तथा कर दाखिला रसिदबाट पुष्टि हुन्छ।'
प्रतिक्रिया