रौतहट, जेठ २८ : ट्रकले बसलाई ठक्कर दिँदा आज बिहान रौतहटको चन्द्रपुर नगरपालिका–१ मंगलपुरस्थित पूर्वपश्चिम राजमार्गमा दुई जना तीर्थयात्रीको मृत्यु भएको छ। दुर्घटनामा २१ तीर्थयात्री घाइते भएका छन्।
तीर्थयात्री बोकेर काठमाडौंबाट जनकपुर जाँदै गरेको ना ६ ख ९०३० नम्बरको बसलाई को १ ख २६२५ नम्बरको ट्रकले ठक्कर दिएको हो। मंगलपुरनजिक रोकेर राखेको बसलाई ट्रकले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
दुर्घटनामा भारतको उडिसाका ६४ वर्षीय चरण विश्वाल र ५३ वर्षीय विजयकुमार जेनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
त्यस्तै, दुर्घटनामा भारतकै सज्यकान्ति प्रधान, मञ्जु विष्डा, सुन्दरि वस्तिया, शौरी विहारालगायत २१ तीर्थयात्री घाइते भएका छन्। सर्वेश्वर जेना र शेषादेव जेनालाई थप उपचारको लागि वीरगञ्ज लगिएको छ भने अन्य घाइतेको चन्द्रपुर र एपोलो अस्पतालमा उपचार भइरहेको छ।
बस रोकेर यात्रु सौच गर्न गएकाले धेरै जोगिएको जनाएको छ। ट्रक चालक सुनसरीको दुहवी–८ का रमेशकुमार चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रतिक्रिया