वीरगंज, १० असार ।
अत्यधिक गर्मी बढेपछि वीरगंज महानगरपालिकाले ३ दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । वीरगंज महानगरपालिका अन्तर्गत सञ्चालित विद्यालयका प्रधानाध्यापकहरूको छलफल तथा नगर शिक्षक महासंघ समेतको राय अनुसार प्रचण्ड गर्मीको प्रतिकूल मौसमलाई मध्यनजर गर्दै मिति २०७६/०३/११ देखि २०७६/०३/१३ गते सम्मका लागि ३ दिन वर्षे बिदाबाट कट्टा हुने गरी महानगरपालिका भित्रका सम्पूर्ण विद्यालयहरूको पठनपाठन बन्द रहने जनाएको छ ।
अत्यधिक गर्मीका कारण विद्यार्थी बेहोस हुने, बिरामी हुने र कक्षाकोठामा बसेर पढ्नै नसक्ने वातावरण सृजना भएपछि भोलि असार ११ गते बुधवारदेखि १३ गते शुक्रवारसम्म ठोरी गापाका सबै सामुदायिक विद्यालयहरू बन्द गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष पदमलाल श्रेष्ठले जानकारी दिए । उनले गर्मीका कारण ठोरीका सामुदायिक विद्यालयहरूबाट पठनपाठनमा समस्या आइपरेको र विद्यार्थी बिरामी पर्न थालेको भन्दै गुनासो आउन थालेपछि विद्यालय बन्द गर्ने निर्णय गरिएको बताए ।
यसअघि पनि शिक्षा विकास तथा समन्वय इकाई वीरगंजले गर्मी बढेको भन्दै गत असार १ देखि ६ गतेसम्म विद्यालय बन्द गरेको थियो।गत शनिवार पानी परेर केही सहज भएको ठोरीको तापक्रम हिजोदेखि बढेर आज झनै असामान्य बनेको छ ।
प्रतिक्रिया