सिमरा : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दलाई मध्येनजर गर्दै बारा प्रहरीले जिल्लाको सुरक्षा व्यवस्था अत्यन्तै कडा पारेको छ ।
नेपाल बन्दको आह्वान गरेको विप्लव समूहले क्षती पुर्याउन सक्ने भन्दै प्रहरीले बाराको राजमार्ग क्षेत्र, सरकारी कार्यालयहरु र टेलिफोन टावरहरुलाई उच्च निगरानीमा राखेको बाराका प्रहरी प्रवक्ता डिएसपी रञ्जितसिंह राठौरले जानकारी दिए ।
बारा र मकवानपुरको सिमानामा रहेको चुरियामाई मन्दिर देखी रौतहटको सिमानामा रहेको धन्सार पुल सम्मको जंगलले घेरिएको राजमार्ग क्षेत्रलाई बारा प्रहरीले उच्च निगरानीमा राखेको छ । 'हाइवेमा सवारी साधनमाथिको आक्रमणको सम्भावना बढि रहेकाले हामिले यहाँ बढि ध्यान केन्द्रित गरेका छौं' डिएसपी राठौरले भने ।
यसबाहेक प्रहरीले बाराका १६ वटै स्थानीय तह सहित त्याहाँका सरकारी कार्यालयहरुमा हुन सक्ने आक्रमणलाई मध्यनजगर गर्दै सुरक्षा व्यवस्था मिलाएको डिएसपी राठौरले जानकारी दिए ।
विप्लव समूहले आह्वान गरेको बन्दलाई मध्यनजर गर्दै बारा प्रहरीले ३० भन्दा बढि मोटरसाइकल गस्ति टोली परिचालन गरेको छ । यस्तै आवश्यक परेको अवस्थामा तुरुन्त पुग्न सक्ने गरि मोवाइल टोलि परिचालन गरिएको छ ।
विप्लव समूहले आफ्नो ४ दिने आन्दोलनका कार्यक्रम अन्तर्गत मंगलबार नेपाल बन्दको आह्वान गरेको छ । विप्लव समूहका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको गत विहिबार सर्लाहीमा प्रहरीले वर्वरतापूर्वक हत्या गरेको भन्दै सो पार्टीले नेपाल बन्दको आह्वान गरेको हो । तर प्रहरीले भने दोहोरो भिडन्तमा पौडेल मारिएको बताएको थियो ।
प्रतिक्रिया