वीरगञ्ज, २७ जेष्ठ/
नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष किशोर प्रधानको संयोजकत्वमा युरोपको व्यापारिक भ्रमणमा गएको व्यापारिक मण्डलले नेदरल्याण्डको आर्मस्टरडममा एक समारोहका बीच गैरआवासीय नेपाली सङ्घ, नेदरल्याण्डका अध्यक्ष तथा पदाधिकारीहरूसँग भेटघाट तथा अन्तरक्रिया गरेका छन् ।
भेटघाटका क्रममा वीउवासङ्घका वरिष्ठ उपाध्यक्ष सुबोधकुमार गुप्ताले वीरगञ्जका उद्योगीहरू संयुक्त लगानीमा उद्योगहरूको स्थापना गर्न तयार रहेको र विदेशी लगानीकर्ताहरूको खोजिरहेकोले वीरगञ्ज वरपर क्षेत्रमा लगानी गर्न नेदरल्याण्डमा रहेका नेपालीहरूलाई आग्रह गर्नुभयो । साथै उहाँले नेदरल्याण्डमा रहेका नेपालीहरूलाई वीरगञ्ज भ्रमणको लागि आमन्त्रण गर्नुभयो ।
गैरआवासीय नेपाली सङ्घ, नेदरल्याण्डका पदाधिकारीहरूले मुलुकको आर्थिक समृद्धि गर्नु आफनो पनि दायित्व रहेकोले मुलुकमैं लगानी गर्न इच्छुक रहेको बताउनुभयो । प्रदेश नं. २ को नीति अनुरूप नयाँ उद्योग स्थापनामा प्रदान गरिरहेको सेवा सुविधाले प्रदेश नं. २ मा त्यसमा पनि वीरगञ्ज क्षेत्रमा लगानी गर्न अझ उत्साहित तुल्याएको बताउनुभयो । खास गरी वीरगञ्ज मुलुककै औद्योगिक राजधानी भएकोले भौतिक विकास तथा वीरगञ्जमा विदेशी लगानी भित्रयाउने दिशामा सकारात्मक भूमिका खेल्ने बताउनुभयो ।
भेटघाटका क्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष किशोरकुमार प्रधान लगायत १५ जिल्ला/नगर उद्योग वाणिज्य सङ्घका अध्यक्षहरूको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया