वीरगंज, २४ जेठ ।
माईस्थान विद्यापीठ माविका प्रअ विनोद मेहताले राजीनामा दिएका छन् ।
सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यमबाट २०७१ सालदेखि अध्यापन शुरु गराएर विद्यालयलाई अग्रपङ्क्तिमा लगेका प्रअ मेहताले अहिले आएर विद्यालय व्यवस्थापन समितिसमेतले असहयोग गरेको र चौतर्फी तनाव दिने काम शुरु भएपछि राजीनामा गरेको प्रतीकलाई बताए ।
जिल्ला शिक्षा विकास तथा समन्वय एकाइ कार्यालय, पर्साका प्रमुखलाई राजीनामा बुझाएको प्रअ मेहताले बताए । उनले २०७१ सालमा अभिभावकहरूको सहमतिमा कक्षा ६ देखि अङ्ग्रेजी माध्यमबाट अध्यापन शुरु गराएको र हाल आएर अख्तियारसमेतले सञ्चालन विधिबारे सोधपुछ गरेको र एकाइले समेत दबाब शुरु गरेकोमा विद्यालय व्यवस्थापन समितिका सदस्यहरूले असहयोग गरेको कारण राजीनामा दिन परेको उनले बताए ।
माईस्थान विद्यापीठ माविमा
अङ्ग्रेजी माध्यमबाट अध्यापन शुरु गराएपछि विद्यार्थी सङ्ख्या ह्वातै बढेको छ ।
कक्षा ८ मा ८ सेक्सन, ९ मा ९ सेक्सन र कक्षा १० मा १० सेक्सन गरी अहिले सो विद्यालयमा २५०० विद्यार्थी अध्ययन गर्दै आएका छन् ।
सामुदायिक विद्यालय निश्शुल्क सञ्चालन गर्नुपर्नेमा अङ्ग्रेजी माध्यमको नाममा माईस्थान विद्यापीठ माविले शुल्क लिएको आरोप थियो ।
प्रअ मेहताले भने अभिभावक भेलाबाट सहयोग लिने निर्णय अनुसार काम भइरहेको दाबी गरेका छन् ।
प्रतिक्रिया